
माघ ६, दैलेख : जिल्ला प्रशासन कार्यालय दैलेखले कोरोना भाइरस कोभिडको तेस्रो लहर बढ्दै जान थालेपछि जिल्ला प्रशासन कार्यालय दैलेखमा सेवा लिन आउने सेवाग्राहीलाई कार्यालय परिसरमै कोरोना विरुद्धको खोप अभियान चलाएको छ । जिल्ला प्रशासन कार्यालयलेका यो कार्य प्रसंसनिय रहेको स्थानीयले प्रतिक्रिया दिएका छन् ।
जिल्ला प्रशासन कार्यालय दैलेखमा जिल्लाभरका नागरिकहरु सेवा लिन आउँछन । सरकारले सार्वजनिक स्थानमा सेवा लिन आउने सेवाग्राहीलाई अनिवार्य खोप कार्ड देखाउनुपर्ने व्यवस्था गरेपछि दैलेख प्रशासनले नागरिकहरू सेवाबाट वञ्चित नहोऊन् भन्ने उद्देश्यले कार्यालयमै खोप अभियान सञ्चालन गरेको हो । खोप कार्ड भएका नागरिकहरु कार्ड देखाएर सहजै सेवा प्राप्त गर्छन्, कार्ड नभएका नागरिकहरु सहजै खोप सुविधा पाएर फर्किन्छन् ।
पुस २८ गतेबाट कार्यालयमै सञ्चालन गरेको खोप अभियानबाट हालसम्म १ हजार १ सय ९५ जना सेवाग्राहीहरूलाई कोरोना विरुद्धको खोप दिइएको दैलेखका प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले बताए ।
मन्त्रालयको निर्देशनअनुसार कर्णालीका १० जिल्लामध्ये दैलेख प्रशासनले मात्र हाल कार्यालयमै खोप अभियान सञ्चालनमा ल्याएको प्याकुरेलको भनाइ छ ।
‘हामीले कति दिन बन्द गरिरहने सबैलाई खोपको सुनिश्चितता भइसकेपछि स्मार्ट लकडाउन जस्ता कुरा अनिवार्य नहुने भएकाले बढीभन्दा बढी नागरिकले खोप पाऊन् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेका हौँ’ उनले भने ।
प्रशासनमा सेवा लिन आउने नागरिकलाई जनस्वास्थ्यको समन्वयमा प्रशासन परिसरभित्रै कोरोना खोप सेन्टर सञ्चालनमा रहेको र खोप लगाउने नागरिकले खोप कार्ड बुझेपछि सेवा लिएर जाने गरेको प्रमुख जिल्ला अधिकारी प्याकुरेलले बताए । धेरै जसो नागरिकहरु अहिलेपनि खोप नपाएको गुनासो गर्ने गरेको प्याकुरेलको भनाई छ । गाउँका दुर दराज भेकका जनताहरु अहिले पनि खोपको पहुँचमा पुग्न सकेका छैनन्, स्थानीय सरकारले खोप अभियानमा तदारुकता देखाउनुपर्ने देखिएको छ ।
यस्तै, जिल्ला प्रहरी कार्यालय दैलेखले तपाईँको मास्क खै ? अभियानलाई तीव्रता दिएको छ । कोरोनाको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ फैलँदै गएकाले नागरिकहरूलाई यसको संक्रमबाट जोगिन मद्दत पुगोस् भन्ने उद्देश्यले मास्क खै ? अभियानलाई जिल्लाभर तीव्रता दिएको दैलेखका प्रहरी प्रमुख भुवनेश्वर प्रसाद शाहले बताए ।









